कसले पियो ! एक्काइस लाखको रक्सी ?

करिब ११ सय रक्सीको बोतल गायब

  • राजेश बर्मा
काठमाडौं,  ५ फागुन/ राजधानीस्थित विदेशी दुतावासका लागि भन्सार छुट(ड्युटी फ्रि) मा ल्याइएको उच्चस्तरका महँगा रक्सी नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीआफैले रित्तयाएका छन्। एक क्वाटर, हाफ वा एक बोतल हैन्, करिब बाइसलाखको रक्सी हिनामिना गरेका छन्, लिमिटेडका गोदाम किपर दिपेन्द्र अधिकारीले। जव आन्तरिक लेखापरिक्षणमा एक्काइसलाख रूपैयाँको रक्सीको हिसाव आएन अनि यो तथ्य पत्ता लागेको हो।


स्कटल्याण्डमा तयार गरिएको सात प्रकारका उच्चस्तरका रक्सी रामशाहपथस्थित उक्त लिमिटेडको वण्डेड वेयर हाउसबाट यसबर्षमा गायव भएको छ। सात प्रकारका गरेर एकहजार ९० थान रक्सीको बोतल गायव भएको फेला परेको छ। स्रोतकाअनुसार वेयर हाउसमा तत्कालिन समयमा गोदाम किपरको रूपमा कार्यरत रहेका दिपेन्द्र अधिकारीले उक्त मूल्यबराबरको रक्सी गायब गरेका हुन्। उक्त रक्सी विभिन्न राजदुतावासले नियमित रूपमा ट्रेडिङबाट खरिद गर्दैआएका छन्।



स्रोतकाअनुसार अधिकारीले ह्याँकी वेनिस्टर नामका एकहजार एमएलको छसय ५२ बोतल, लर्डस् किंगलेज नामका हजार एमएलको एकसय ६२ वोतल, कोल्ड स्ट्रिम भन्ने हजार एमएलको जिनको एकसय ४१ बोतल, टिचर्स नामको १.१४ एमएलको एकसय १५ र सोही नामको हजार एमएलको १० वटा रक्सीको बोतल वेयर हाउसबाट गायव गरिएको छ। यो सबै प्रकारका रक्सीको मूल्य २१ लाख ५१ हजार दुईसय ८३ रूपैयाँ ८३ पैसा रहेको नेशनल ट्रेडिङले अन्नपूर्णलाई जानकारी दिएको छ।



स्रोत भन्छ,'अधिकारीले साता विराएर रक्सीका बोतलहरू घर लान्थे। उनी आफै त्यहाँको प्रमुख भएपछि कसैले केही भन्ने आँटै भएन।'ट्रेडिङ लिमिटेडको आन्तरिक परीक्षण तथा नियन्त्रण महाशाखाले गत भदौं २१ गते उक्त गोदाममा गरेको छड्के जाँचअन्तर्गत उक्त परिमाणको रक्सी गायव भएको रहस्य खुलेको थियो। महाशाखा प्रमुख समिरजंग राणाले नेतृत्वले उक्त छड्के गरेको थियो। स्रोत भन्छ,'कुटनीतिक नियोगका लागि ड्युटी फ्रि भनेर आएको यस्ता धेरै महँगा रक्सीहरू हराएको छ। छड्केको क्रममा पहिलो पटक यो घटना बाहिर आएको हो।'


स्रोतकाअनुसार जिन्सीप्रमुख र महाप्रवन्धकको मिलोमतोमा यसअघि पनि लाखौं मूल्यबराबरको रक्सी गोदामबाट गायव पारिएको छ। गोदामबाट गायव पारेर बजारका विभिन्न मदिराजन्य पसलमा सस्तो मूल्यमा बिक्रि गरेर प्राप्त रकम बाँडफाँड गर्ने चलन छ। 'छानविनको क्रममा बयानका लागि अधिकारीलाई बोलाउदा उनले त्यती मूल्यबराबरको रक्सी गायब गरेको बिषयमा कुनै पश्चाप गरेनन्,' स्रोतले भन्यो,'उनले कहिले महाप्रवन्धक त कहिले जिन्सी प्रमुखको निर्देशनमा रक्सी बाहिर लगेको मात्र बयान दिए। तर त्यो रक्सी कहाँ पु:याए, कसले सेवन गरे भन्ने बिषयमा खुलाउन तयार भएनन्। उनले आफैले उक्त परिमाणको रक्सी गायव गरेको र उक्त रक्सीको सबै क्षतिपूर्ति तिर्न तयार रहेको बयानको क्रममा बयान गरेका थिए।'


यति ठूलो मूल्यबराबरको रक्सी गायव पारिएपनि ट्रेडिङले दोषि अधिकारीमाथि कडाईका साथ कारवाही गर्ने प्रकृया बढाएको छैन्। ट्रेडिङले अधिकारीसँग मासिक रूपमा क्षतिपूर्ति भराउने काममात्र सुरू गरेको छ। 'कूल क्षतिअनुसार मासिक चारहजारका दरले अधिकारीबाट क्षतिपूर्ती भराउदै आएका छौं,' नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहताले भने।

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा एंकरमा प्रकाशित
प्रकाशित मिति २०७० फागुन ६ गते

Comments